काठमाडौँ । पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै काठमाडौँ उपत्यकामा बिक्री हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घले शुक्रबारदेखि प्रतिसिलिन्डर अधिकतम २ हजार ६० रुपैयाँमा बिक्री गर्न उद्योगी तथा डिलरलाई निर्देशन दिएको हो ।
कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले वैकल्पिक लामो मार्गबाट उपत्यकामा ग्यास ढुवानी गर्दै आएका थिए । ढुवानी लागत बढेपछि त्यसबेला प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसासम्ममा ग्यास बिक्री गरिएको थियो ।
अहिले अवरुद्ध सडकमा वैकल्पिक ट्र्याक खुलेर यातायात सहज भएपछि ग्यास बुलेटहरू नियमित रूपमा काठमाडौँ आउन थालेका छन् । वैकल्पिक मार्गको अतिरिक्त ढुवानी खर्च हटेसँगै सङ्घले ग्यासको मूल्य पुनः निगमले तोकेको २ हजार ६० रुपैयाँमा कायम गरेको जनाएको छ ।


















प्रतिक्रिया