भोटेकोशी बाढीपीडितलाई मृ-त्यु दर्तादेखि क्षतिपूर्तिसम्मको अधिकार दिलाउन माग


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले फेला परेका तर सनाखत हुन नसकेका शवको डीएनए परीक्षण गरी पहिचान गर्न पनि माग गरेका छन् ।

रास्वपाका सांसद ठाकुरसिंह थारूले शव नभेटिएका कारण पीडित परिवारले मृत्यु दर्ता, बीमा भुक्तानी, बैंकमा रहेको रकम तथा अन्य कानुनी प्रक्रिया अघि बढाउन नसकेको बताए । उनले विपद्का घटनामा बेपत्ता व्यक्तिको परिवारलाई कानुनी अधिकारबाट वञ्चित हुन नदिन आवश्यक कानुनी व्यवस्था गर्न माग गरे ।

सांसद विश्वराज पोखरेलले बेपत्ता तथा सनाखत हुन नसकेका शवको डीएनए परीक्षण गरी धार्मिक संस्कारअनुसार अन्तिम संस्कारको व्यवस्था गर्नुपर्ने बताए । कृष्णहरि बुढाथोकीले मृत्यु दर्ता, बीमा र बैंकिङलगायत प्रक्रिया सहज बनाउन सरकारसँग आग्रह गरे ।

यसैगरी सांसदहरूले सुरुङभित्र तथा बाहिर खोजी तीव्र पार्न, जोखिमयुक्त नदी तटीय बस्ती स्थानान्तरण गर्न र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन माग गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा महँगी, कालोबजारी नियन्त्रण र एलपी ग्यासको सहज आपूर्तिमा समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।