भोजपुर । नेकपा (एमाले) भोजपुरका अध्यक्ष मक्कर खड्काले पार्टीको केन्द्रीय सचिवालयको निर्णयअनुसार कार्यदलले संकलन गरेको सुझावका आधारमा मात्रै आधिकारिक प्रतिवेदन तयार हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले सञ्चारमाध्यममा आएजस्तो फरक–फरक प्रतिवेदन तयार पार्ने छुट कसैलाई नभएको बताएका हुन्। उनका अनुसार गत जेठ ४ देखि १० गतेसम्म बसेको केन्द्रीय सचिवालय बैठकले निर्वाचन समीक्षा र पुनर्गठनसम्बन्धी कार्यदल गठन गरेको थियो र कार्यदलले आवश्यक सुझाव संकलन गरिसकेको छ।
पार्टीको अर्को बैठकबाट नयाँ निर्णय नभएसम्म सचिवालय बैठकको निर्णय नै आधिकारिक लाइन हुने खड्काको भनाइ छ। उनले पार्टीभित्र कुनै निर्णय गलत भए त्यसबारे बैठकमा छलफल गरेर सच्याउनुपर्ने, तर सञ्चारमाध्यममा आएजस्तो अलग–अलग प्रतिवेदन तयार गर्ने काम गर्न नहुने स्पष्ट पारे।
खड्काले कार्यदलले संकलन गरेका सुझावलाई आधार बनाएर प्रतिवेदन तयार गर्नुपर्नेमा जोड दिएका छन्। उनले एमालेभित्रको निर्वाचन समीक्षा र पुनर्गठनको प्रक्रियालाई व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि राखी विधिसम्मत ढंगले अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्।



















प्रतिक्रिया