काठमाडौँ । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ।
यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीबाट छपाइ थालेको हो। प्रणालीमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यहाँबाट छापिएको लाइसेन्स हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ। प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ।
सोहीअनुसार मधेश प्रदेशले सम्झौता गरी लाइसेन्स छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी छपाइ सुरु गरेको छ। सम्झौता नगरेका प्रदेशमा भने विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरिनेछ।
नयाँ प्रणालीबाट छपाइ सुरु भएपछि नयाँ लाइसेन्स तथा नवीकरण प्रक्रियालाई थप सहज बनाउँदै प्रदेशअनुसार छपाइ व्यवस्थापन गरी सेवाग्राहीलाई समयमै लाइसेन्स उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ।



















प्रतिक्रिया