काठमाडौँ । बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव असोज ७ देखि १२ गतेसम्म नेपालमा पर्न सक्ने मौसमविद्ले बताएका छन्। तर असोज ८ गतेदेखि नै देशभर भारी वर्षा हुने भन्ने विषयमा अहिले नै ठोस पूर्वानुमान गर्न नसकिने उनीहरूको भनाइ छ।
मौसमविद् रोजन लामिछानेका अनुसार प्रणाली अझै पूर्ण रूपमा विकसित भइसकेको छैन। बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आएमा वर्षा बढ्न सक्ने भए पनि कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने कुरा समय नजिकिएपछि मात्रै स्पष्ट हुनेछ।
उनले असोज ८ देखि १२ गतेसम्म वर्षाको सम्भावना रहे पनि प्रणालीको दिशा र प्रभाव परिवर्तन हुन सक्ने बताए। विशेषगरी यसअघि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा थप वर्षा भए उद्धार तथा राहतमा समस्या आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउन उनले आग्रह गरे।
धान काट्ने तथा भित्र्याउने समयसमेत भएकाले किसानलाई मौसमको अवस्था हेरेर आवश्यक तयारी गर्न मौसमविद्ले सुझाव दिएका छन्।



















प्रतिक्रिया