सगरमाथा डिजिटलका सञ्चालक केसीविरुद्ध अदालतमा मुद्दा दायर


काठमाडौँ । दुई गीतकारका गीतको प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा सगरमाथा डिजिटल प्रालि र सञ्चालक हीरा बहादुर केसीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले नेपाल सरकारका तर्फबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दायर गरेको हो। अभियोगपत्रमा गीतकार सरोज केसी र शशि शर्मा मजगैयाँका सिर्जनाको अनधिकृत प्रयोग तथा बिक्री–वितरणबाट आर्थिक क्षति भएको दाबी गरिएको छ।

अभियोगपत्रअनुसार मजगैयाँका ‘तिम्रै यादमा’, ‘तिम्रो माया मेरो माया’, ‘मलाई बीच बाटोमा’, ‘माया के हो’ लगायत ४८ वटा गीत तथा गजलको प्रतिलिपि अधिकार उल्लंघन गरी डिजिटल प्लेटफर्ममा प्रयोग तथा वितरण गरिएको आरोप छ।

सरोज केसीले ३५ लाख रुपैयाँ र शशि शर्मा मजगैयाँले ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको दाबी गरेका छन्। उनीहरूले बिगो तथा क्षतिपूर्ति भराउन माग गरेका छन्।

अभियोगपत्रमा स्रष्टाको अनुमति नलिई गीतहरू युट्युबलगायत डिजिटल प्लेटफर्ममा अपलोड गर्नुका साथै स्रष्टाको नाम तथा श्रेयसमेत हटाएर आर्थिक लाभ लिएको आरोप लगाइएको छ। मुद्दामा अदालतबाट हुने निर्णयपछि आरोपबारे कानुनी निष्कर्ष आउनेछ।