काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी विपद् व्यवस्थापनदेखि पार्टीका गतिविधि पुनः सञ्चालन गर्नेसम्मका ७ वटा निर्णय सार्वजनिक गरेको छ।
बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गर्न तथा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको टोलीलाई भोटेकोशी विपद्, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा केन्द्रित भएर तयारी गर्न नीतिगत निर्देशन दिइएको छ।
मधेस प्रदेशको संगठनात्मक अवस्था तथा कार्यसम्पादन अडिटसम्बन्धी प्रारम्भिक प्रतिवेदन सहमहामन्त्री हरि ढकालले प्रस्तुत गरेका छन्। विस्तृत प्रतिवेदन प्राप्त भएपछि आवश्यक रणनीतिक कदम अघि बढाउने निर्णय बैठकले गरेको छ।
बैठकले केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिँदै विभिन्न व्यक्तिलाई सदस्यमा मनोनयन गरेको छ। यस्तै, ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुख तथा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्कीलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा मनोनयन गरिएको छ।
नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
भोटेकोशी विपद्का कारण स्थगित पार्टीका आधिकारिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। ‘हामी सुन्छौँ अभियान’, ‘नागरिक नीति र नेतृत्व’ अभियान तथा स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालगायत संगठनात्मक र जनसम्पर्कका कार्यक्रम अघि बढाइने रास्वपाले जनाएको छ।
बैठकमा पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिसम्बन्धी विषयमा सचिवालयलाई जानकारी गराएका थिए। वाग्लेको भारत भ्रमणमा बाढीपछिको पुनर्निर्माण र नेपाल–भारत आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो।






















प्रतिक्रिया