पुरानै शैलीमा संसदीय समिति चलेको भन्दै ढकालको आपत्ति


काठमाडौँ । प्रतिनिधिसभा सदस्य सागर ढकालले संसदीय समितिहरू पुरानै शैलीमा सञ्चालन भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले सांसद बनेको करिब ६ महिना पुग्न लाग्दा पनि अपेक्षाअनुसार काम हुन नसकेको बताए।

ढकालले पाँच वर्षे कार्यकालको करिब १० प्रतिशत समय बित्न लाग्दा समितिहरूले सरकारलाई प्रभावकारी रूपमा कति निर्देशन दिन सके भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताए। उनले समितिका सभापति अशोककुमार चौधरीलाई निर्णय गरेर अघि बढ्न आग्रहसमेत गरे।

‘अबको केही दिनमा हामी सांसद भएको ६ महिना पुग्छ, यो भनेको ५ वर्षे कार्यकालको १० प्रतिशत समय हो। यत्तिको समयसम्म पनि हामीले के काम गर्‍यौँ?’ भन्दै उनले समितिको कार्यसम्पादनमाथि प्रश्न उठाए।

उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कर्मचारी तथा अनुसन्धान केन्द्रहरूले उठाएका समस्या र दिएका सुझाव समितिमा छलफल गरेर मात्रै नहुने बताए। ती सुझाव कार्यान्वयनमा लैजानु समितिको जिम्मेवारी भएको उल्लेख गर्दै उनले त्यसमा चुक्न नहुने धारणा राखे।

हाल कृषि तथा प्राकृतिक स्रोत समितिमा नार्कअन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती र कृषि अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल भइरहेको छ।