सुमनाको प्रश्न : जवाफदेहितासँगै मानवीयता देखाउन सकिँदैन ?


काठमाडौँ । त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासको घटनापछि पूर्वमन्त्री सुमना श्रेष्ठले कानुन कार्यान्वयनसँगै राज्य संयन्त्रमा मानवीय संवेदना र जवाफदेहिताको आवश्यकता औँल्याएकी छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले ट्राफिक नियम पालना गराउनु आवश्यक भए पनि नागरिकले आफूलाई नसुनिएको, असहाय वा अन्यायमा परेको महसुस गर्ने अवस्था किन सिर्जना हुन्छ भन्ने प्रश्न उठाएकी छन् ।

उनले नियम उल्लङ्घन भए कानुनी कारबाही हुनुपर्ने उल्लेख गर्दै कारबाहीका क्रममा नागरिकको सम्मान र मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने बताएकी छन् । घटनालाई ‘नागरिक सही कि प्रहरी सही’ भन्ने दुई पक्षमा मात्र सीमित नगरी राज्य संयन्त्र कहाँ चुकिरहेको छ भन्नेबारे समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

श्रेष्ठले भनेकी छन्, ‘ट्राफिक प्रहरी गलत छन् भन्नु पनि होइन। कानुन चाहिँदैन भन्नु त झन् होइन। जवाफदेहिता र मानवीयता सँगसँगै हुन सक्दैन र?’

उनले सामाजिक सञ्जालमा यस्ता घटनालाई विवाद वा ‘कन्टेन्ट’का रूपमा मात्र प्रस्तुत गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरेकी छन् । नागरिकले आफू अन्यायमा परेको महसुस गर्नुअघि नै गुनासो राख्न र न्याय खोज्न सक्ने प्रभावकारी प्रणाली आवश्यक रहेको श्रेष्ठको भनाइ छ ।

त्रिपुरेश्वर घटनामा चालक दावा लामाको ट्राफिक प्रहरीसँग विवाद भएको सार्वजनिक विवरण छ । घटनाबारे विभिन्न दाबी सार्वजनिक भइरहेकाले यसको वास्तविकता सम्बन्धित निकायको छानबिनबाट स्पष्ट हुने बताइएको छ ।