कृष्णभिर नजिकै फेरि पहिरो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन


काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

धादिङ प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार बिहान कृष्णभिरभन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण सडकको एकतर्फी लेनबाट मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्।

यसैगरी बेनीघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा अझै वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ।

यसअघि भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो।

कृष्णभिरमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो। तर, पछिल्लो पहिरोका कारण सोही क्षेत्रमा पुनः सडक प्रभावित भएको हो।

यात्रु तथा सवारी चालकलाई पहिरो प्रभावित क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्न आग्रह गरिएको छ।