डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, मानवीय क्षति भएन


डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ।

नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहीबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार जहाज अवतरण गर्ने क्रममा पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि दुर्घटना भएको हो। चक्का खुस्किएपछि जहाज केही पर उछिट्टिएको प्रहरीले जनाएको छ।

पाइलटले तत्काल इन्जिन बन्द गरेपछि सम्भावित आगलागीबाट जहाज जोगिएको बताइएको छ। दुर्घटनापछि जहाज अहिले पनि रनवेमै रहेको छ।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन।