काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि रायसुझाव दिन सरोकारवाला निकाय तथा व्यक्तिलाई आग्रह गरेको छ।
मन्त्रालयले नेपाल स्काउटलाई विश्व स्काउटका सिद्धान्त तथा मूल्यमान्यतासँग नेपालको मौलिक परम्परा र प्रचलित कानुनअनुकूल बनाउँदै बालबालिका तथा युवालाई स्काउट अभियानमा सहभागी गराउन विधेयक आवश्यक रहेको जनाएको छ।
बालबालिका तथा युवाको शारीरिक र नैतिक विकाससँगै उनीहरूमा अनुशासन, जिम्मेवारी र सेवाभाव विकास गरी देश विकासका कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई थप सक्षम र व्यवस्थित बनाउन कानुनी सुधार आवश्यक रहेको मन्त्रालयको भनाइ छ।
संघीय शासन प्रणालीअनुसार नेपाल स्काउटलाई पनि संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन तथा व्यवस्थापन गर्न सकिने गरी कानुनी व्यवस्था स्पष्ट गर्नुपर्ने प्रस्ताव गरिएको छ। संविधानको धारा ५१ मा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसँग सम्बन्धित विषयलाई समेत ध्यानमा राखी नयाँ कानुनी व्यवस्था आवश्यक रहेको मन्त्रालयले जनाएको छ।
प्रस्तावित विधेयकले नेपाल स्काउटको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गर्नुका साथै अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।
मन्त्रालयले असोज ८ गते जारी गरेको सूचनामार्फत विधेयकको उद्देश्य, आवश्यकता र त्यसबाट पर्ने प्रभावका सम्बन्धमा १५ दिनभित्र राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई आग्रह गरेको छ।


















प्रतिक्रिया