कञ्चनपुरमा झोलुङ्गे पुलको पिल्लर भाँचियो, आवतजावत पूर्णरूपमा अवरुद्ध


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि पुलबाट हुने आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ ।

मिति २०८३ असोज १४ गते राति पुलको पिल्लर भाँचिएको हो । करिब १ हजार ४५३ मिटर लामो उक्त झोलुङ्गे पुलमा रहेका ८ वटा पिल्लरमध्ये पिल्लर नम्बर ३ भाँचिएपछि पुलको करिब ६ मिटर भाग क्षतिग्रस्त भएको जनाइएको छ ।

पिल्लर भाँचिएर पुलको संरचनामा क्षति पुगेपछि जोखिम बढेकाले हाल उक्त पुलबाट पैदल तथा अन्य आवतजावत पूर्णरूपमा रोकिएको छ ।

पुलको महत्वपूर्ण संरचनामै क्षति पुगेपछि स्थानीयवासीको दैनिक आवतजावत प्रभावित भएको छ । क्षतिग्रस्त पुलको अवस्थाबारे सम्बन्धित निकायले आवश्यक निरीक्षण तथा मर्मतसम्भारको प्रक्रिया अघि बढाउनुपर्ने देखिएको छ ।