भारतबाट पेट्रोल–डिजेलको मूल्य २० रुपैयाँ बढेर आयो, नेपालमा भने नबढाउने सरकारको निर्णय


काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट असोज १४ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु. २०१.४४, डिजेल तथा मट्टितेल रु. २०१.२९, हवाई इन्धन रु. १८१.६६ र एलपी ग्यासको मूल्य प्रतिकिलो रु. ६१.१३२ पुगेको छ।

तर, रसुवाको भोटेकोशीमा आएको असाधारण बाढीबाट सिर्जित परिस्थिति, नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको निर्णयअनुसार असोज १५ गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

हाल कायम मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा रु. १९७.५०, दोस्रो वर्गमा रु. १९९ र तेस्रो वर्गमा रु. २०० प्रतिलिटर छ। डिजेल तथा मट्टितेलको मूल्य पनि क्रमशः रु. १९७.५०, १९९ र २०० प्रतिलिटर कायम छ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु. २४९ प्रतिलिटर कायम गरिएको छ। अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ‘ब्रेकइभेन पोइन्ट’मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य रु. २ हजार ६० प्रति सिलिन्डर कायम छ।

निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा हालको अवस्थामा करिब रु. ३ अर्ब २० करोड ३७ लाख घाटा हुने अनुमान गरेको छ।

निगमले युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका कारण स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको जनाएको छ।