जनताको ज्यान जोगाउन सरकार प्रतिबद्ध हुनुपर्छ : सभापति लामिछाने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रलाई सुरक्षित राख्न तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् ।

नारायणी नदी किनारमा भएको क्षतिको अनुगमन तथा निरीक्षणपछि उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा उनले नागरिकको जीवन, बजारको अस्तित्व, ऐतिहासिक महत्त्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता भएको बताए ।

बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य सङ्घले जानकारी गराएलगत्तै आफूले सम्बन्धित निकायलाई खबर गरेको र आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिएको लामिछानेले जानकारी दिए । उक्त टोलीले काम अघि बढाइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

लामिछानेले तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपायलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । प्राविधिक अध्ययनका आधारमा भविष्यमा बजार क्षेत्र नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना औँल्याउँदै उनले त्यस्तो परिस्थिति आए सबै सरोकारवालाको सहमतिमा निर्णय लिनुपर्ने बताए ।

“जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो । जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो”, उनले भने, “नागरिकको जिउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ ।”

आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई विशेष प्राथमिकता दिनुपर्ने मान्यता नराखेको स्पष्ट पार्दै लामिछानेले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोबाट भएको क्षति र आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताए । कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको समस्या पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

चितवनको समस्या पनि अन्य प्रभावित क्षेत्रसरह आवश्यकताका आधारमा सम्बोधन हुने बताउँदै उनले तत्काल आवश्यक पर्ने कामको अध्ययन लगभग तयार भइसकेको जानकारी दिए । अध्ययनबाट पहिचान भएका योजनाका लागि स्रोत सुनिश्चित गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरोकारवालालाई आश्वस्त रहन आग्रह गरे ।

छलफलका क्रममा लामिछानेले नारायणी नदीको कटान तथा डुबानबाट बजार क्षेत्रमा परेको जोखिमबारे समयमै जानकारी गराई अध्ययन टोली परिचालन गर्न सहयोग गरेको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनलाई धन्यवाद दिए । छलफलअघि उनले नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नदी कटानको समस्या गम्भीरतापूर्वक लिएर समाधानका उपाय खोज्न सभापति लामिछानेले सुरुदेखि नै पहल गर्दै आएको बताए । उनले नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुने गरी आवश्यक योजना बनाउन आग्रह गरे ।