चरिकोट । नेपाली कांग्रेस दोलखाको १५औँ नियमित जिल्ला अधिवेशन जिल्ला सदरमुकाम चरिकोटमा भव्य समारोहका बीच उद्घाटन भएको छ। नेपाली कांग्रेसका नेता तथा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले अधिवेशनको उद्घाटन गरेका हुन्।
अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसको आन्तरिक एकता नै देशको समुन्नति, लोकतन्त्रको संरक्षण र राष्ट्रिय स्वाभिमानको रक्षाको प्रमुख आधार भएको बताएका छन्। पार्टीभित्रको एकता बलियो बनाउन सके मात्रै कांग्रेसले मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।
आफ्नो प्रमुख ध्येय नेपाली कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको उल्लेख गर्दै कोइरालाले पार्टीलाई बलियो र एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो ठाउँबाट इमानदार प्रयास गर्नुपर्नेमा जोड दिए। व्यक्तिगत स्वार्थभन्दा पार्टीको आदर्श, सिद्धान्त र संगठनात्मक हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको धारणा थियो।
उनले नेपाली कांग्रेसका पुराना नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय भीमबहादुर तामाङको योगदानको स्मरण गर्दै लोकतन्त्र स्थापनाका लागि उनले पुर्याएको त्याग र योगदान पार्टीका लागि सधैँ प्रेरणादायी रहने बताए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले पार्टीका ऐतिहासिक मूल्य, मान्यता, सिद्धान्त र आदर्शको संरक्षण गर्दै वर्तमान आन्तरिक अन्तरद्वन्द्वलाई राजनीतिक संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्ने बताए। पार्टीभित्र देखिएको वैधानिकताको विवादमा आफूहरूले न्याय पाउने विश्वास व्यक्त गर्दै उनले विधि, विधान र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गगन थापाले विधिसम्मत प्रक्रियाभन्दा बाहिर गएर अरूको उक्साहटमा पार्टी कब्जा गर्ने प्रयास गरेको आरोप लगाए। उनले पार्टी सञ्चालनमा विधि, विधान र संस्थागत प्रक्रियाको पालना हुनुपर्ने धारणा राखे।
केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले नेपाली कांग्रेसको वर्तमान राजनीतिक परिस्थितिमा पार्टी एकताको आवश्यकता झन् बढेको बताए। आन्तरिक मतभेद र असमझदारीलाई संवाद, सहकार्य र आपसी समझदारीका माध्यमबाट समाधान गर्दै संगठनलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई, बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठलगायतका नेताहरूले पनि अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए।
वक्ताहरूले पार्टीको संगठनात्मक अवस्था, आन्तरिक एकता, लोकतान्त्रिक मूल्य र आगामी राजनीतिक दिशाबारे आ–आफ्ना धारणा राख्दै कांग्रेसलाई जनताको विश्वासिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न संगठन सुदृढीकरण आवश्यक रहेको बताएका थिए।
जिल्ला अधिवेशनलाई दोलखामा नेपाली कांग्रेसको संगठनात्मक अवस्था समीक्षा गर्ने, आगामी नेतृत्व चयन गर्ने तथा पार्टीको भावी राजनीतिक र सांगठनिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
अधिवेशनमा जिल्लाका विभिन्न तहका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

















प्रतिक्रिया