छठ पर्वले समाजमा सद्भाव र एकता कायम राख्न प्रेरित गर्छ: गगन थापा


ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको महत्त्वपूर्ण सन्देश दिने बताएका छन्।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गरेका छन्।

सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको छठ पर्वले मानव जीवन र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्ने उनको भनाइ छ। उनले यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने तथा जीवनमा सकारात्मक सोच, आशा र विश्वास कायम राख्ने प्रेरणा दिने उल्लेख गरेका छन्।

थापाले छठ पर्वलाई धार्मिक आस्थासँगै सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक सहअस्तित्वको प्रतीकका रूपमा लिएका छन्। विभिन्न जातजाति, भाषा, धर्म र समुदायका मानिसलाई एकताको सूत्रमा बाँध्न यस्ता सांस्कृतिक पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।

उनले छठ पर्वले समाजमा आपसी प्रेम, भाइचारा, सहिष्णुता र सद्भाव थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।

प्रकृतिको पूजा, सूर्यप्रतिको कृतज्ञता र पारिवारिक सुख–समृद्धिको कामनासहित मनाइने छठ पर्वले समाजमा सकारात्मक ऊर्जा सञ्चार गर्ने सभापति थापाको भनाइ छ।

उनले यस पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य कायम रहोस् भन्ने कामनासमेत गरेका छन्।