धार्मिक पहिरनमा सजिएर प्रधानमन्त्री पत्नी काफ्लेले दिइन् मैथिली भाषामा छठको शुभकामना


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले छठ पर्वको अवसरमा मैथिली भाषामा शुभकामना व्यक्त गरेकी छन्।

धार्मिक पहिरनमा सजिएको आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले मैथिली भाषामा छठ पर्वको शुभकामना दिएकी हुन्।

उनले सामाजिक सञ्जालमा ‘सबके कल्याण करव हे छैठ परमेश्वरी, हे दीनानाथ’ भन्दै सबैको सुख, शान्ति र कल्याणको कामना गरेकी छन्।

काफ्लेले मैथिली भाषामार्फत दिएको शुभकामना सन्देशले तराई–मधेसको भाषा, संस्कृति र परम्पराप्रतिको आत्मीयता झल्काएको छ।

छठ पर्व सूर्यदेव र छठी माताको आराधना गरी मनाइने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। यस पर्वमा व्रतालुहरूले कठोर व्रत तथा उपवास बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ।

विशेषगरी तराई–मधेस क्षेत्रमा श्रद्धा र उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पनि व्यापक रूपमा मनाउन थालिएको छ। नदी, पोखरी तथा जलाशयका किनारमा व्रतालु र श्रद्धालुहरूको ठूलो उपस्थिति रहने यस पर्वले धार्मिक आस्था र सामाजिक एकताको सन्देश दिने गर्दछ।

बहुभाषिक तथा बहुसांस्कृतिक नेपाली समाजमा मातृभाषा र मौलिक परम्पराको सम्मानले आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिन्छ।

प्रधानमन्त्री पत्नी काफ्लेले मैथिली भाषामा दिएको शुभकामना सन्देश पनि छठ पर्वको सांस्कृतिक महत्व र भाषिक विविधताप्रतिको सम्मानका रूपमा देखिएको छ।