राष्ट्रपति भवनको सुरक्षा गर्न नसक्ने हो भने सेना परिचालन गर्नुस् : ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा राष्ट्रपति भवनको सुरक्षा गर्न नसकेको भन्दै नेपाली सेनामाथि प्रश्न उठाएका छन्।

बिहीबार एमाले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले राष्ट्रपति निवास र देशका ऐतिहासिक संरचनामाथि आगजनी हुँदा पनि सुरक्षा व्यवस्था प्रभावकारी हुन नसकेको बताए।

‘राष्ट्रपति निवासको सुरक्षा नहुने ? भैरवनाथ गणमा राष्ट्रपति थुनेर सुरक्षा हुन्छ ?’ भन्दै उनले त्यतिबेला सेनाले के गरिरहेको थियो भन्ने प्रश्न गरे।

ओलीले जेनजी आन्दोलनका क्रममा भएका हत्या, आगजनी र तोडफोडका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरे। आन्दोलनका क्रममा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवामाथि घरमै पुगेर कुटपिट हुँदा राज्यको उपस्थिति नदेखिनु लज्जास्पद भएको उनको भनाइ थियो।