प्रधानमन्त्रीको भारत भ्रमणमा एक दर्जनभन्दा बढी सम्झौता हुँदै


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच एक दर्जनभन्दा बढी सम्झौता तथा समझदारी हुने तयारी गरिएको छ। भ्रमणका क्रममा त्यति नै सङ्ख्यामा विकास आयोजनाको शिलान्यास तथा उद्घाटन गर्ने तयारीसमेत छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहले आर्थिक सहकार्य, हवाई सम्पर्क र पूर्वाधार विकासलाई प्राथमिकता दिने भएका छन्। भ्रमणका क्रममा मोदीसँग आधा घण्टा एक्लाएक्लै वार्ता हुने र त्यसपछि द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ।

नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेश मार्गको विषय भ्रमणको प्रमुख एजेन्डा बनेको छ। महेन्द्रनगर, भैरहवा, नेपालगन्ज र जनकपुरबाट थप हवाई मार्ग उपलब्ध गराउन नेपालले आग्रह गर्दै आएको छ। भारत कम्तीमा एउटा मार्ग उपलब्ध गराउन सकारात्मक देखिएको अधिकारीहरूको भनाइ छ। यद्यपि कुन मार्गमा सहमति हुने भन्ने टुङ्गो लागिसकेको छैन।

भ्रमणका क्रममा अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास गर्ने तयारी छ। त्यस्तै, अयोध्या–जनकपुर रेलमार्ग, नेपाल प्रहरी एकेडेमीको भवन, दार्चुलाको पुल र भैरहवास्थित एकीकृत जाँच चौकीको उद्घाटन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।

यसका साथै सूचना प्रविधि, बन्दरगाहलगायत क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ। प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

भ्रमणको विस्तृत कार्यतालिका र सम्झौता हुने विषयबारे परराष्ट्र सचिव अमृत राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी छ।