जहाँ भए पनि मतदान गर्न पाउने व्यवस्था मिलाउँदै निर्वाचन आयोग


काठमाडौँ । निर्वाचन आयोगले स्थायी ठेगानाभन्दा बाहिर रहेका तथा विदेशमा बस्ने नेपाली नागरिकलाई पनि मतदानमा सहभागी गराउने विषयमा कानुनी तथा नीतिगत तयारी अघि बढाएको छ ।

स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग भएको छलफलमा आयोगले बाह्य मतदानसम्बन्धी अवधारणाबारे जानकारी गराएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार दलहरूले प्रस्तावित व्यवस्थाबारे सकारात्मक प्रतिक्रिया दिएका छन् ।

आयोगले मतदानमा सहभागी हुने मतदाताको संख्या बढाउन यस्तो व्यवस्था अघि सारेको हो । गत निर्वाचनमा करिब ६० प्रतिशत मतदाता मात्रै सहभागी भएको र ४० प्रतिशत मतदानबाट बाहिर रहेको आयोगले जनाएको छ ।

प्रस्तावित कानुनको अन्तिम स्वरूप संसद्ले निर्धारण गर्ने भएकाले व्यवस्था कसरी लागू हुन्छ भन्ने टुंगो लाग्न बाँकी रहेको प्रवक्ता भट्टराईले बताए ।