नेपाल बैंकको नयाँ सेवा : अब भर्चुअल क्रेडिट कार्डबाटै भुक्तानी


काठमाडौँ । नेपाल बैंक लिमिटेडले ग्राहकका लागि भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा उक्त सेवा सुरु गरेको हो ।

सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा बिहीबार नेपाल बैंकको प्रधान कार्यालय न्युरोडमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दासले हस्ताक्षर गरेका छन् ।

नयाँ सेवाअन्तर्गत नेपाल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्डका लागि सहजै आवेदन दिन सक्नेछन् । यसले ग्राहकलाई भौतिक कार्डबिना नै डिजिटल माध्यमबाट भुक्तानी गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

फोनपे भर्चुअल क्रेडिट कार्डमा सहज आवेदन प्रक्रिया, विभिन्न भुक्तानी सुविधा, वास्तविक समयमै कारोबारको विवरण हेर्न सकिने व्यवस्था, ४५ दिनसम्म ब्याजरहित अवधि र लचिलो भुक्तानी विकल्प उपलब्ध छन् ।

यस सहकार्यले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार र ग्राहकको भुक्तानी अनुभवलाई थप सहज बनाउने विश्वास नेपाल बैंकले लिएको छ ।