रातभर उभिएर बत्ती बाल्दा सन्तान जन्मिने अनौठो विश्वास ! जानी राखौ


अरू समयमा खेतको बीचमा रहेको ईशानेश्वर महादेव मन्दिरमा खासै भीड लाग्दैन। खेतहरूमा पनि काम गर्ने मान्छे बाहेक देखिँदैनन्। शिवरात्रिमा भने मेलामाजस्तो मानिसको भीड देखिन्छ। यस्तो भीड जम्मा हुनुमा अनौठो विश्वास छ। दिनभर निराहार ब्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ती हुन्छ भन्ने विश्वासले यो भीड लाग्ने गरेको हो। पश्चिम लमजुङको ईशानेश्वर ८ निवासी प्रदीपराज घिमिरे बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नजन्मिएपछि चिन्तित थिए।

पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा पटकपटक स्वास्थ्य जाँच गराउँदा समेत सन्तान हुने लक्षण नदेखिएपछि डा. भोला रिजालसँग जाँच गराए। परीक्षण पश्चात डा. रिजालले पनि सन्तान हुन नसक्ने बताएपछि उनी शिवरात्रिमा ईशानेश्वर महादेव मन्दिरमा रातभर उठेर ठाडो बत्ती बाले। त्यसपछि उनको सन्तान भयो। शिक्षक समेत रहेका घिमिरेले भने, ‘धर्मप्रति मलाई अहिले विश्वास लाग्छ।’

समीभञ्ज्याङ ३ निवासी रामचन्द्र श्रेष्ठले विवाह गरेको ७ वर्षसम्म सन्तान नभएपछि शिवरात्रिमा रातभर उठेर बत्ती बाले। निराहार ब्रत बसेर ठाडो बत्ती बालेपछि उनको अहिले एक छोरा जन्मिएको छ। भन्छन्, ‘अरूले भनेको सुन्दा विश्वास थिएन, आफैंले भोग्दा विश्वास भयाे।’

लमजुङ र कास्कीको सिमानामा रहेको ईशानेश्वर गाविस करापुटारमा हरेक शिवरात्रिमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ। मेलामा विशेष गरी रातभर जाग्राम बसेर भजन कीर्तनका साथ बत्ती बाल्ने परम्परा छ।

वर्षेनी एक हजारभन्दा बढी भक्तजन उठेर बत्ती बाल्छन्। भजन कीर्तनकासाथ सन्तान सुख र मनोकांक्षा पूरा हुने विश्वासमा हजारौंको संख्यामा तिर्थालू आउने गरेका छन्। शिवरात्रिमा उठेर बत्ती बाल्नाले सन्तान प्राप्ति हुने भन्दै स्थानीयबासी ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव पनि भन्ने गर्छन्। दीर्घायुको कामना गर्दै बत्ती तथा लाखबत्ती बाल्नेहरुको समेत मेलामा घुइँचो लाग्छ।

शिवरात्रिमा भक्तजनहरु बिहानै नजिकैको मादी नदीमा स्नान गरी मन्दिरमा गाईको दूध एवं बेलपत्र चढाउँछन्। त्यस अवसरमा पुराण वाचन, रुद्री पाठ, सामूहिक ब्रतबन्धका साथै विवाह समेत गर्ने परम्परा छ। मादी र मिदिम नदीको किनारमा रहेको फराकिलो फाँटमा रातभर सयौं झुण्ड–झुण्डमा भजन कीर्तनका साथै बत्ती बालेको दृश्य निकै रोमाञ्चक हुने भुलभुलेस्थित प्रभात शान्तिपूर्ण माविका प्रअ ईश्वर पाण्डेले बताए।