होम क्वारेनटाइनमा के गर्दैछन् कलाकार ?


कोरोनाको त्रासका कारण अहिले सरकारले पूर्ण नेपाल लकडाउन गरेको छ । कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

क्वारेन्टाइनमा बसेका कलाकारहरु केही चलचित्र हेरेर दिन बिताइरहेका छन्, केही पुस्तकमा भुलेका छन् ।

नायिका रेखा थापा घरमा एक्लै छिन् । आफ्नो सम्पूर्ण काम आफैँ गरिरहेकी छिन् । भाडा माझ्नेदेखि घर सफा गर्नेसम्मको काम रेखा आफैँ गरिरहेकी छिन् ।

रेखाको दिन बितेको रेखाले नै पत्तो पाउँदिनन् । उनी भन्छिन्, ‘अहिले आफ्नो लागि आफैँ काम गरिरहेकी छु । काम गर्न थालेपछि त त्यसैमा दिन बितिहाल्छ । कसरी दिन काट्ने भनेर सोच्न परेको छैन ।’

रेखाले सामाजिक संजाल हेर्न भने छोडेकी छैनन् । के समाचार आयो भनेर उनी अपडेट भइरहेकी हुन्छिन् । आफ्नो शुभचिन्तकहरुलाई पनि विश्वसनिय कुराहरु सेयर गर्छिन् ।

त्यस्तै, नायिका केकी अधिकारी पनि घर सरसफाईमा रमाइरहेकी छिन् । आफूलाई नचाहिने सामानहरु उनी छुट्याइरहेकी छिन् ।

केकीको दिनचार्यको साथी चलचित्र र पुस्तक बनेका छन् । हेर्न नपाएका चलचित्र र दोहोर्याएर हेर्न मन लागेका चलचित्रहरु उनी हेरिरहेकी छिन् । केकी भन्छिन्, ‘दिनमा मैले २ वटा चलचित्र हेरिरहेको छु ।’ पुस्तकमा उनले ‘एक्टर प्रिपियर’ पढिरहेकी छिन् ।

आफ्नो परिवारको साथ समय बिताइरहेका नायक आर्यन सिग्देल भने कविता लेखेर बसिरहेका छन् । चलचित्र र पुस्तक उनका पनि साथी हुन् ।

नायिका स्वस्तिमा खड्कालाई दिन कटाउन निकै गाह्रो परेको छ । पुस्तक पढ्ने बानी नभएकाले होला उनलाई दिन लामो लाग्ने गरेको छ । उनको काम चलचित्र हेर्ने मात्रै छ ।

उनले भनिन्, ‘पुस्तक नपढ्ने भएकाले चलचित्र हेर्ने काम मात्र भइरहेको छ । ट्रेण्डिङमा पनि यहीँ भाइरससँग सम्बन्धित विषयहरु नै आइरहेको हुन्छ । त्यसलाई छोडेर अरु जे भेट्यो त्यही हेरिरहेको छु ।’

नायिका वर्षा सिवाकोटी भने शरीरिक व्यायम गरिरहेकी हुन्छिन् । उनले सामाजिक संजालमा पनि अभ्यास गरेको फोटो/भिडियो पोष्ट गरिरहेकी हुन्छिन् ।

योसँगै वर्षा आफूलाई मन परेको खानेकुरा आफैँ तयार गरेर खाइरहेकी छिन् ।

त्यस्तै गायक प्रमोद खरेल अहिले मिलेको फुर्सदलाई नयाँ सृजनामा खर्च गरिरेहका छन् । केही नयाँ शब्द र नयाँ धुन सोचेर नै उनले आफ्नो दिन बिताइरहेका छन् ।

संगीतकार अर्जुन पोखरेलले भने क्वारेन्टाइनको समयमा नै तीन वटा गीत तयार गरिसकेका छन् । उनी भन्छन्, ‘मेरो लागि क्वारेन्टाइन फलदायी नै बनेको छ ।’

संगीतकार तथा गायक वसन्त थापालाई भने संगीत सृजना गर्ने उत्साह छैन । पूरा विश्व नै माहामारीको चपेटामा रहेको समय उनले सृजना गर्ने आट गरेका छैनन् । उनी भन्छन्, ‘आशान्त मन लिएर संगीत सृजना गर्न सकिन ।’ उनी चलचित्र र पुस्तकसँग दिन बिताइरहेका छन् ।