काठमाडौं, असार २४ । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।
अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे ।
यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
प्रतिक्रिया