राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ


अनलाइन टिभी नेपाल काठमाडौं, इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले देश शोकमा परेको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनि हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए ।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।

विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२/६३ सँगै पुनःस्थापित संसद्का सभामुख भएका थिए । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी चारपटक सभामुख हुँदा उनी सधैँ सर्वसम्मत नै बने ।

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।