काठमाडौं– गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको समाचार ल्याउँदा कैलाश सिरोहियालाई फसाइएको कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशक सम्भव सिरोहियाले बताएका छन् ।
रविले समाचार लुकाउन र मिलाउन धेरै अनुरोध गरेको तर कान्तिपुरले नमानेपछि नागरिकता प्रकरणमा फसाइएको उनले आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियोमार्फत भनेका छन्, ‘उहाँले पहिले आफुले गरेको पत्रकारिता जस्तै सोच्नु भयो जस्तो लाग्यो मलाई । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ सोच्नुभयो ।’ म्यानेज्मेन्टले समाचार लेख्दैन र एडिटोरियल कान्तिपुरमा स्वतन्त्र रहेको बताउँदा रविले नबुझेको उनले बताए ।
रविको अनुरोधमा कान्तिपुरले सेटिङ नगर्दा गृहमन्त्रीको पदको दुरुपयोग गर्दै कैलाश सिरोहियालाई झुटो मुद्दामा पक्राउ गरेको उनले आरोप लगाए ।
हरेक दलको भ्रष्टाचार र गलत अभ्यासको विरुद्धमा बोल्दा कान्तिपुरले साथीभन्दा धेरै शत्रु बनाएको उनको भनाइ छ । एमाले, कांग्रेस, माओवादी, राप्रपा जस्ता जुनसुकै दलको भ्रष्टाचारका विषयमा निडर भएको बोल्दै आएको उनले बताए । उनले भने, ‘यसैगरि आज नयाँ दलको नेताको करप्सन देखिँदा कान्तिपुरले त्यसलाई लुकाउन सक्दै सक्दैन । सत्यलाई जनतासामु लिएर आउनैपर्छ ।’
उनले आफ्नो बुबा तथा कान्तिपुरको अध्यक्ष कैलास सिरोहियालाई लागेको आरोपको स्पष्टिकरण दिँदै भने, ‘कैलाश सिरोहिया हामी जस्तै नेपालमा जन्मेको हुर्केको नागरिक हुन् । उहाँ जन्मिँदा बुबाले नेपाली नागरिक भएको भएर उमेर पुगेपछि नेपाली नागरिकता लिनु भएको हो ।’
दाजुहरुको नागरिकताको प्रकारभन्दा कैलाश सिरोहियाको नागरिकताको प्रकार फरक भएको भन्दै भ्रम फैलाएको उनले बताए । दाजुहरु जन्मिँदा कैलाशका बुबा नेपाली नागरिक भइ नसकेको र कान्छो छोरा कैलाश जन्मिँदा बुबा नेपाली नागरिक भइसकेकोले नागरिकताको प्रकारमा फरक भएको उनले स्पष्टिकरण दिए ।
कैलाश सिरोहियाको किर्ते नागरिकता रहेको भन्दै उजुरी हाल्ने व्यक्तिको रास्वपाको कार्यकर्ता रहेको उनले बताए । ४५ वर्ष पुरानो नागरिकतासँग नागरिकता नम्बर मिलेको व्यक्तिले रवि लामिछाने गृहमन्त्री भएको केहि समयपछि मात्र नागरिकताको प्रतिलिपि लिएको उनले बताए ।
सिडियोसँग रहेको लाखौँ नागरिकको कागजपत्रमध्ये कैलाश सिरोहियाको नागरिकतासँग रास्वपाको कार्यकर्ताको नागरिकता नम्बर मिलेको हो की मिलाइएको हो भन्दै उनले प्रश्न गरे ।
‘गृहमन्त्रीको सहकारी ठगीको विषयमा उजुरी लिने की नलिने भनेर सर्वोच्च अदालतमा छलफल भइरहेको अवस्थामा कैलाश सिरोहियाविरुद्ध कसरि उजुरी दर्ता भयो । हामीसँग कागजपत्र किन मागिएन’ उनले भने ।
प्रहरीले नागरिकता प्रकरणमा अध्यक्ष सिरोहियालाइ गत जेठ ८ गते पक्राउ गरेको थियो । कैलाशलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो । कैलाशको पक्राउलाई गृहमन्त्री लामिछानेले प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै आलोचना भएको थियो ।
प्रतिक्रिया