राष्ट्रपतिले संविधान मिच्नुहुँदैन, ७६ (३) अनुसार नै सरकार गठन हुन्छः माधव सापकोटा


काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संवैधानिक व्यवस्थाअनुसार अब सबैभन्दा ठूलो दलको संसदीय दलका नेता प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन् ।

‘संविधानमा के कुरा स्पष्ट छ भने प्रधानमन्त्रीले राजीनामा नदिएर संवैधानिक अधिकार र अभ्यास हामीले जे गर्यौं, त्यसपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार नै सरकार बन्नुपर्ने संवैधानिक व्यवस्था छ,’– उनले भने ।

साथै, उनले आफूहरुले संविधानको धारा ७६ (३) अनुसार सरकार गठनको आह्वान हुनुपर्ने माग राख्ने पनि बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत नपाएसँग राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउन शीतल निवास गएको पनि उनले जानकारी गराए ।

‘हामी यसकैको माग सम्माननीय राष्ट्रपतिसँग गर्छौं । हामीलाई के आशा, अपेक्षा छ भने सम्माननिय राष्ट्रपतिले संविधानलाई मिच्नुहुन्छ । संविधानको पालना गर्नु उहाँको कर्तव्य हो,’– उनले भने ।