काठमाडौं– नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीको पदभार ग्रहण कार्यक्रम केही समयको लागी धकेलिएको छ । मन्त्री कृषि मन्त्रालयमा पुग्दा कर्मचारीहरु विभिन्न मागसहित धर्नामा बसेपछि नवनियुक्त मन्त्री अधिकारीलाई पदभार ग्रहणमा केही समय लाग्ने भएको हो ।
उनी शितलनिवासमा पद तथा गोपनियताको सपथ लिएपछि पदभार ग्रहण गर्न मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयका कर्मचारी धर्नामा बसेको देखेपछि कर्मचारीको कुरा सुनेर बाहिरिए । उनी मन्त्रालयबाट बाहिरिएर क्यान्टिनमा गएर बसे ।
कृषि मन्त्रालयअन्तर्गत रहेका प्राविधिक कर्मचारीहरुको वृत्तिविकास माग गर्दै कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका हुन् । नयाँ मन्त्रीले आफूहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मात्रै धर्ना कार्यक्रम स्थगित हुने अडान उनीहरुको छ ।
कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार समायोजन गर्दा प्राथमिकता तय नभएको, विभिन्न दरवन्दीमा रिक्त हुँदा पनि पदपूर्ति नभएको कर्मचारीको गुनासो छ ।
संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत पुल दरबन्दीमा रहेका ३२८ जना कर्मचारीसमेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्ने माग उनीहरुले राखेका छन् । संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने, कृषितर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूिर्त हुनुपर्ने परमादेश कार्यान्वयन हुनुपर्ने लगायतका माग उनीहरुको छ ।
कर्मचारीका गुनासो सुनेपछि मन्त्री अधिकारीले समस्या समाधानको पहल गर्न कर्मचारीसँग समय मागेका छन् ।
उनले अब मन्त्रिपरिषदको बैठकपछि ४ बजेपछि पदभार ग्रहण गर्ने बताएका छन् ।
प्रतिक्रिया