मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व कम भएको भन्दै महिला आयोगको असन्तुष्टि


काठमाडौं– राष्ट्रिय महिला आयोगले मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व कम भएको भन्दै असन्तुष्टि जनाएको छ ।

२२ सदस्यीय मन्त्रिपरिषदमा २ जना मात्र महिला सहभागी गराएर राजनीतिक दलहरूले संविधानको व्यवस्थालाई बेवास्ता गरेको र महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरेको आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले बताएकी छन् ।

संविधानको धारा ३८ (४) अनुसार राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक रहेको छ ।

संविधानमा यो व्यवस्था रहे पनि विभिन्न कानुनले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा काँग्रेस र एमालेका एक÷एक जना मात्र महिला छन् । यो संख्या कुल मन्त्रिपरिषद् सदस्यको ९ प्रतिशत मात्र हो ।