जुवा खालबाट पक्राउ परे गाउँपालिकाका अध्यक्ष


काठमाडौं– जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका हुन् ।

कपन प्रहरी प्रभागले शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा बुढानीलकण्ठ–१० बाट घलेसहितका व्यक्तिहरुलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसअघि अध्यक्ष नुर्वु मानव वेचबिखनको कसुरमा समेत पक्राउ परेका थिए । एक महिलाले आफूलाई श्रीलंका पुर्‍याएर मानव बेचबिखन गरको आरोप लगाउँदै ७ वर्ष पहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा नुर्वुविरुद्ध जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा घले गत चैतमा पक्राउ परेका थिए ।