काठमाडौं– काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गहिरो दुःख प्रकट गरेको छ । बुधबार रास्वपाका कार्यवाहक प्रवक्त मनिष झाले एक विज्ञप्ती जारी गर्दै रास्वपाका तर्फबाट दुःख प्रकट गरेका हुन् ।
विज्ञप्तीमा भनिएको छ, ‘दिवंगत सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना अर्पण गर्दछौं । दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन उपचाररत हुनुहुन्छ । प्रभावकारी उपचारसहित उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
दुर्घटनाको छानबिनको लागि समेत रास्वपाले माग गरेको छ । दुर्घटनाको प्रभावकारी छानबिन गरी आउने तथ्यका आधारमा हवाई सुरक्षामा प्रयाप्त ध्यान दिन विमान सेवा प्रदायक कम्पनी, नियामक निकाय र सरकार समक्ष आग्रह रास्वपाले भनेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘यस दुःखद घडीमा हामी शोकाकुल परिवार र सरकारका साथमा छौं ।’
बुधबार बिहान ११ः११ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटनामा परेको थियो । सौर्य एयरलाइन्सको ९ एन–एएमई–सीआरजे २०० जहाज दुर्घटनामा परेको हो ।
पोखराका लागि उडेको यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । भुइमा जहाज पछारिएपछि भिषण आगो लागेको थियो । जहाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको थियो ।
उक्त जहाजमा दुई चालकदलसहित १९ जना सवार थिए । ती मध्ये जहाजका कप्तानलाई मात्र जीवित उद्धार गर्न उद्धार टोली सफल भएको थियो ।
प्रतिक्रिया