लोक तथा दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्य गायिका शान्तिश्री परियारले एक पछि अर्को अश्लिलताले भरिएको गीत बजारमा


काठमाडौं– पछिल्लो समयकी व्यस्त भनिएकी गायिका शान्तिश्री परियारले एक पछि अर्को अश्लिलताले भरिएको गीत बजारमा ल्याइरहेकी छिन् । उनको पछिल्ला दुई गीत अश्लिलताका कारण चर्चाको उत्कर्षमा पुगेका छन् ।

शान्तिश्री र हरि गिरीको स्वरमा रहेको ‘विस्ताराले पोल्यो’ गीत कामुकता र अश्लिलताले भरिएको छ । गीतको भिडिओमा सञ्चिता बालाखे र रमेश विश्वकर्माको नृत्य छ । १४ साउनमा सार्वजनिक उक्त गीत सबैको अगाडी सुन्न र हेर्न नसक्नुछ ।

पाँच दिन अघि शान्तिश्रीले गाएको अर्को गीत ‘गुलेली तन्कियो’ पनि कमको छैन । विशाल सोनीको युट्युब च्यानलबाट प्रसारण गरिएको उक्त तीजको गीतमा ‘के भयो कुरो त खाने हो चुरोट, कहाँ छ सलाई।। झ्याप्प झ्याप्प झ्याप्प समाइदेऊ च्याप्प, गाह्रो भो मलाई’ जस्ता शब्द छन् । महानायक राजेश हमालसमेत रहेको भिडियोमा विशाल सोनी र कुमारी बराइलीसमेतको नृत्य देख्न सकिन्छ । यो गीतपनि अश्लिलताको प्रतिमुर्ती बनेको छ ।

उसो त पछिल्लो समय सर्वाधिक रुचाइएकी र व्यस्त गायिका हुन् परियार । उनी दैनिक दुई÷तीन वटा गीतसमेत रेकडिङ गरेकी हुन्छिन् । यसक्रममा उनले कस्ता शब्द लोक गीतका लागि गाउनुपर्ने हो भन्ने हेक्का गर्न नभ्याएको हुनुपर्छ । तर एकै दिन उनकै स्वरमा दुईवटा उस्तै किसिमका गीत सार्वजनिक हुनुले गीत पाएपछि जस्तो पनि गाइहाल्छिन् भन्ने भास्यलाई प्रमाणित गरेको छ ।

गत वर्ष ‘अरेली काँडैले’ गीतको चर्चा पछि गायिकालाई जस्तो गीत गाएपनि उनलाई स्रोताले मन पराइहाल्छन्, दाम पनि कमाइन्छ भन्ने घमण्ड भएको छ । १४ वर्ष लामो समयदेखि लोक दोहोरी गीत गाएकी परियार पछिल्लो समयमा गीतको सङ्ख्या बढाउनमात्र जस्तो पनि गीत गाउनुले यही कुरातर्फ नै संकेत गर्छ ।

लोक तथा दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यसमेत हुन् शान्तीश्री । प्रतिष्ठानमा बसेर पछिल्लो समय लोक दोहोरीको नाममा फैलिरहेको अश्लिलतालाई नियमन गर्नतर्फ ध्यान दिनुपर्नेसट्टा आफैँ त्यस्ता गीत गाइरहेकी छिन् । अनुभवी गायिका र जीम्मेवार पदमा बसेर चाडपर्व र सिंगो लोकगीतका पारखीको मनमा चोट पु¥याएर माफी मागेकै भरमा छुटकारा पाउन खोजेकी छिन् । तर नत उनले गीतका अश्लिल शब्द र भिडियो सामाग्री हटाइएकी छिन् न भिडियो नै डिलिट गरेकी छिन् ।

गायिका परियारले हरि गिरी विमर्शीको युट्युब च्यानलबाट साउन ११ मा सार्वजनिक ‘विस्ताराले पोल्यो’ गीत विवादपछि उनले माफी मागेकी हुन् । तर उनले ‘गुलेली तन्कियो’ गीतको बारेमा केही प्रतिक्रिया दिएकी छैनन् ।

गायिका परियारले माफी माग्दै ‘विस्ताराले पोल्यो’ गीत लोक दोहोरी, तीज विशेष कुनैपनि विधा अन्तर्गत नरहेको बताएकी छिन् । गीतको भिडियोमा प्रयोग भएको दृश्यांकले भने दर्शक, श्रोतामा नकारात्मक असर परेको र सामाजिक सञ्जालमा धेरै नकारात्मक टिप्पणी आएको भन्दै उनले माफी मागेकी छिन् ।

तर १४ वर्षदेखि लोक गीत संगीतमा आवद्ध रहेर दुई हजार बढी गीत गाइसकेकी गायिकाले सामाजिक सञ्जालमा गाली खाएपछि मात्र आफुले गाएका गीत अश्लिलताले भरिएको र स्रोतामा नकारात्मक असर परेको महसुस गरेँ भन्नु आफैँमा हास्पास्पद छ ।