एजेन्सी– जापानको एक पसलमा कैँची हराउँदा ३६ वटा विमानको उडान रद्द भएको छ । जापानको होक्काइदोको न्यू चितोस विमानस्थलबाट शनिबार ३६ वटा उडान रद्द गरिएको थियो । विमानस्थलका अन्य २०१ वटा उडानमा ढिलाइ भएको थियो ।
विमानस्थलको बोर्डिङ गेट नजिकै रहेको एउटा पसलबाट एक थान कैँची हराएपछि ३६ बिमानको उडान नै रद्द गर्नुपरेको खुलेको छ । कैँची खोज्न शनिबार होक्काइदोको न्यू चितोस विमानस्थलको घरेलु टर्मिनलमा करिब २ घन्टा सुरक्षा जाँच बन्द गरिएको थियो ।
सुरक्षा जाँच बन्द हुँदा बिमानस्थल पुगेका हजारौँ यात्रुहरु अलपत्र परेका थिए । कैँची हराएपछि सुरक्षा जाँच गरिएका यात्रुको समेत दोहोर्याएर सुरक्षा जाँच गरिएको थियो । यसो गर्दा प्रस्थान कक्षमा यात्रीको ताँती लागेको थियो ।
बिमानस्थलका कर्मचारीहरु पसलबाट हराएको कैँची खोज्ने प्रयासमा व्यस्त थिए । तर दुईघण्टासम्मा पनि कैँची नभेटिएपछि उडान सेवा सुचारु गरिएको थियो ।
उक्त घटना भएको भोलिपल्ट भने कैँची हराएको भनिएको पसलमानै कैँची भेटिएको छ । यसको जानकारी विमानस्थल सञ्चालक कम्पनी होक्काइलो एयरपोर्टले सोमबार बताएको थियो । पसलमा काम गर्ने एक कामदारले सो कैँची फेला पारेका हुन् ।
पसलमा भेटिएको कैँची विमानस्थलमा हराएको भनेर खोजिएकै हो भन्ने पुष्टि नहुँदासम्म यसको सूचना जारी नगरिएको अधिकारीहरूले बताएका थिए । यातायात मन्त्रालयले यो घटनाको कारणबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन होक्काइदो एयरपोर्टलाई निर्देशन दिएको छ ।
न्यू चितोस जापानको सबैभन्दा व्यस्त विमानस्थल हो । सन् २०२२ मा यहाँबाट डेढ करोडभन्दा धेरैले हवाई यात्रा गरेका थिए ।
प्रतिक्रिया