गुडिरहेको बस लेदोसहितको बाढीमा भासियो


गुल्मी– गुल्मीमा लेदोसहितको बाढीमा गुडिरहेको बस गाडिएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१, रातामाटास्थानस्थित मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक रुपमा पुरेको हो ।

राजमार्गको तम्घास–बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यात्रु सबैजना बसबाट सकुल बाहिर निस्किएका छन् ।

राजमार्गको रिडी देखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ । सडक बिस्तारका क्रममा छाडिएको बाटोमा अहिले वर्षको समयमा हिलाम्मे बन्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

अहिले उक्त स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । बाटो खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।