रवि लामिछानेसँग विशेष समितिले लिएको साढे ६ घण्टा लामो बयान, के दिए रविले जवाफ ?


काठमाडौं– सहकारी रकम अपचलन विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिमा पूर्व गृहमन्त्री, गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपाका सभापति रवि लामिछानेले साँढे छ घण्टा लामो बयान दिएका छन् ।

शुक्रबार समितिले अपराह्न साढे ४ बजेदेखि राति साढे १० बजेसम्म लिएको बयानमा लामिछानेलाई ५० वटा प्रश्न सोधेको थियो ।

उनले बयानमा सोधिएको प्रश्नको सामना गर्दै सूर्यदर्शन र सुप्रिम सहकारीबाट ऋण आफूले नलिएको बताएका छन्। उनले बयानका क्रममा भनेका छन्, ‘पोखरामा रहेको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट ऋण लिएको रवि लामिछाने म होइन। मेरो नागरिकता, धितो, कागजपत्र केही पनि प्रयोग भएको छैन। जिबीले नै फेक ऋण बनाएको भए मलाई जानकारी भएन ।’ रविले ऋण लिने व्यक्ति आफु नभएको उनको भनाइ उद्धृत गर्दै समितिकी सदस्या तथा सांसद ईश्वरी न्यौपानेले बताइन् ।

बयानका क्रममा उनले गोर्खा मिडियाका अध्यक्ष जिबी राईको सहकारीमा संलग्नता थियो भन्ने कुरा ग्यालेक्सी टेलिभिजन छाडेपछि मात्र थाहा पाएको बताएका छन् । उनले बयानमा भने, ‘जिबी राईको यति धेरै सहकारीमा संलग्नता थियो भन्ने कुरा मैले दोस्रोपटक सांसद जितिसकेपछि जब उनकाबारे मिडियामा खबर आउन थाले, त्यति बेला मात्र थाहा पाएको हुँ । नेचर हब जस्ता कम्पनी छन् भन्ने कुरा भने मलाई थाहा थियो। त्यत्रा कम्पनी र अथाह सम्पत्तिको मालिक भएकाले जिबीले जहाँबाट पनि पैसा ल्याउन सक्छन् भन्ने मात्र मलाई थाहा थियो ।’

बयानका क्रममा समितिले सोधेको अधिकांश प्रश्नको जवाफ आफूलाई थाहा नभएको बताएका छन् । गोर्खा मिडियामा टिभी सञ्चालनको जिम्मेवारी मात्र लिएको तथा महिनाको ५ लाख तलब र अरू सुविधा लिएको उनले बताएका छन् । कानुनमा स्वेट सेयरको व्यवस्था नभएकाले जिबीले नै आफूलाई पैसा दिएर त्यही पैसा सेयरका लागि गोर्खा मिडियाको खातामा पठाएको उनले बताइका छन् ।

ग्यालक्सी टेलिभिजन छोड्दा सेयरबापत पैसा पनि नलिएको उनले बताएका छन् । रविले गोर्खा मिडियाको आर्थिकपाटो बारे आफूलाई थाहा नभएको बताउँदै उनले कुनैपनि सहकारीबाट ऋण लिँदा आफ्नो कागजात पेश नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा होला ।’