फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु


काठमाडौं– गिनीको दोस्रो ठुलो सहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको छ । रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबिच विवाद पछि भएको झडपमा परेर ५६ जनाको मृत्यु भएको हो ।

आइतबारको खेलमा घातक भागदौड मच्चिँदा मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबिचको खेलमा खलल पुर्‍याउने घटनाको निन्दा गरेका छन् ।

उनले भनेका छन्, “सरकारले घटनाको अनुसन्धान गरिरहेको छ । घाइतेहरूको उपचार र अन्य सहयोगमा बाधा नपुगोस् भन्नेमा पूर्णरूपमा सजक छ । सरकार सबै नागरिकलाई शान्तिका लागि संयमता अपनाउन आह्वान गर्दछ ।”

सन् २०२१ मा भएको सत्ता विद्रोह ‘कु बाटसत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रूपमा दक्षिणपूर्वी सहरमा उक्त खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।