पुष्पको हातमा फिल्म खोई ?


फिल्म ‘मनसँग मन’ असफल भएपछि नायक पुष्प खड्काको हातमा नयाँ फिल्म परेको छैन । उनले, केही समय अगाडि फिल्म ‘सिड्नी ब्लूज’ साइन गरेका थिए । तर, यो फिल्म बन्ने नबन्ने अत्तोपत्तो छैन । शंकर कार्कीले न त फिल्म ‘सत्यम्’ नै बनाउन सके, न त ‘सिड्नी ब्लूज’ घोषणा गरेर नै निर्देशन गर्न सके ।

यो फिल्म बनेको भए नायक पुष्प खड्कालाई केही फाइदा हुने थियो । तर, अहिलेसम्म त्यो पनि देखिएको छैन । पुष्प आफै पनि एउटा राम्रो कथा भएको फिल्मको खोजीमा छन् । तर, बजारमा नयाँ नयाँ कलाकारहरुको आगमन मात्र भएको छैन, बक्स अफिस नै नयाँ शैलीमा अगाडि बढिसकेको अवस्था छ । यस्तो अवस्थामा पुष्पको हातमा अब नयाँ फिल्म पर्छ या पर्दैन, धेरैका लागि चासोको बिषय बनेको छ ।

तर, पुष्पको हातमा म्युजिक भिडियोको भने अभाव छैन । हातमा, फिल्म नहुँदा पनि पुष्प भिडियोका कारण व्यस्त छन् । तर, भिडियोमा मात्र काम गरेर पुष्पको करिअर लामो समयसम्म अगाडि बढ्न सक्दैन । पुष्पले फिल्म ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पनि जितेका छन् । तर, उनले आफूलाई फिल्म नगरीमा भने बलियो रुपमा अगाडि बढाउन नसकेको पक्का हो ।