काठमाडौँ- भारतका दिग्गज क्रिकेटर वीरेन्द्र सहवाग र उनकी पत्नी आरती अहलावत बीचको २० वर्ष पुरानो विवाह अब संकटमा परेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, सहवाग र आरती केही महिना अगाडि नै अलग(अलग बस्दै आएका छन्, र चाँडै नै उनीहरूको डिभोर्स प्रक्रिया औपचारिक हुन सक्ने जानकारी प्राप्त भएको छ। यस विषयमा दुवैले भने कुनै टिप्पणी गरेका छैनन्।
सहवाग र आरतीका बिचको सम्बन्धमा दरारको संकेत केही समय पहिले नै देखिएको थियो। दिवालीको अवसरमा सहवागले साझा गरेका तस्बिरहरूमा आरती अनुपस्थित थिइन्, र केवल उनका छोराहरू र आमा मात्र देखिएका थिए। त्यस्तै, सहवागले केरलाको पलाक्कडस्थित विश्व नागायाक्सी मन्दिरको दर्शनमा गएका बेला पनि आरती संग थिएनन्।
सहवागसँग विवाह गरेपछि आरती लो प्रोफाइल जीवनशैलीमा रहन रुचाउँथिन्। दिल्ली विश्वविद्यालयबाट कम्प्युटर साइन्समा डिप्लोमा गरेकी आरती र सहवागको विवाह २००४ मा भएको थियो। उनीहरूको पहिलो सन्तान, छोरा आर्यवीरको जन्म २००७ मा भएको थियो, र कान्छो छोरा वेदान्तको जन्म २०१० मा भएको थियो।
वीरेन्द्र सहवागले २०१५ मा क्रिकेटबाट सन्न्यास लिएपछि विभिन्न क्रिकेटसँग सम्बन्धित भूमिकाहरूमा सक्रिय रहेका छन्। यस समयको सामाजिक सञ्जाल र पारिवारिक गतिविधिहरूले यो जोडीको निजी जीवनमा उत्पन्न समस्याबारे संकेत गरेका छन्, जसको बारेमा थप जानकारी आउन सक्नेछ।
यो समाचार भारतीय क्रिकेटका फ्यानहरूका लागि झस्काउने खबर हो, र यसले भारतीय क्रिकेट समुदायमा डिभोर्सको लहरलाई अझ स्पष्ट बनाउँछ।
प्रतिक्रिया