दरबारमार्गको पैदल मार्गमा ग्रेनाइट राख्न सुरु: अनुगमन समितिबाट गुणस्तर निरीक्षण

५ करोड १५ लाख रुपैयाँ लागतमा काम हुँदै


काठमाडौँ – दरबारमार्गको पैदल मार्गमा ग्रेनाइट राख्ने काम सुरु भएको छ। आज महानगरपालिकाको अनुगमन समितिले उक्त कामको निरीक्षण गरेको छ। निरीक्षणका क्रममा समितिका संयोजक र महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ग्रेनाइट सेटिङ्को निरीक्षण गर्दै पैदल मार्गलाई पैदल यात्रामैत्री बनाउनुपर्ने बताउँदै, सडकमा रहेका रुखहरूको संरक्षणका विषयमा अधिकारीहरूसँग जिज्ञासा राख्नुभयो।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइटको बाहिरी भाग खस्रो भएकाले यात्रामा चिप्लिने जोखिम नहुने बताए।

नारायणहिटी संग्रहालय अगाडि, महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्मको दुवैतर्फको सडकमा ग्रेनाइट राखिँदैछ। सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार, पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म हुनेछ।

ग्रेनाइट राख्नुअघि, गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसपछि व्रिक सोलिङ् गरिएको छ। पछि पिसिसी ढलान गरिएको छ र अन्तिममा ग्रेनाइटको १६ एमएमसम्मको परत राखिनेछ।

सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रा. लि. ले यो काम गर्दैछ। २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको हो। योजनाको अवधि माघ महिनाको अन्त्यसम्म रहनेछ।