काठमाडौंमा अनलाइन जुवा अखडामा प्रहरीको छापा, २३ जना पक्राउ


काठमाडौं- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा प्रहरीले छापा मारेर २३ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार बरामद सामग्रीहरूमा भेटिएका तथ्यहरूको विस्तृत विश्लेषण भइरहेको छ।

गोप्य सूचनाका आधारमा आइतबार राति दोर्जी लामाको दुईतले घरमा अनलाइन जुवा सञ्चालन भइरहेको अवस्थामा भारतीय नागरिकहरू सहित २३ जनालाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा गिरोहले हालसम्म करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार गरिसकेको देखिएको छ।

एसएसपी अधिकारीका अनुसार बरामद मोबाइल र ल्यापटप अनलाइन जुवामा संलग्न भएको प्रमाण देखिएको छ, र यसबारे थप अनुसन्धान भइरहेको छ।