काठमाडौँ- फोर नेसन्स कपको फाइनलमा म्यानमारसँग २ ० गोल अन्तरले पराजित भएपछि नेपाल महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले दर्शकसँग माफी मागेकी छन्।
फेसबुकमा लामो स्टाटस लेख्दै उनले भने, फेरि पनि हामी फाइनलमा चुक्यौं। कप्तानको रूपमा म सबै समर्थकसँग माफी माग्न चाहन्छु। उनले थपे, मैदानमा उपस्थित १६ हजार दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू, हामीले तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं।
नेपाल, म्यानमार, किर्गिस्तान र लेबनान सम्मिलित फोर नेसन्स कपको समूह चरणमा नेपालले म्यानमारसँग बराबरी खेलेको थियो, तर उपाधिका लागि भएको निर्णायक भिडान्तमा पराजित भयो। यससँगै नेपाली महिला फुटबल टिम १३ औं पटक उपविजेतामा सीमित भएको छ।
कप्तान एन्जिला तुम्बापोले माफी माग्दै लेखेकी छिन्, म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं। तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ।
उनले थप भनिन्, अधिकार र अवसरहरूको खाँचो छ, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ।ू साथै, उनले खेलाडीहरूको आलोचना नगरी निरन्तर साथ, माया र समर्थनको आवश्यकता रहेको बताएका छन्।
अब नेपालले महिला एसिया कप र फिफा विश्वकपको छनोट खेल्नेछ। आगामी जुनमा हुने छनोट चरणको समूहमा शीर्ष बन्न सके नेपाल एएफसी वुमन्स कपमा छनोट हुनेछ।
प्रतिक्रिया