हल्ला मात्र, हल खाली : “जनै हराएको मान्छे”को कमजोर बुकिङ


काठमाडौं – आक्रामक हल्लाबीच शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले अग्रिम बुकिङमा निराशाजनक परिणाम देखाएको छ।

१ सय २० भन्दा बढी हल पाएको चलचित्रले प्रिमियरमा चर्चा बटुले पनि वास्तविक दर्शकको उपस्थिति र अग्रिम टिकट बिक्री अत्यन्त कमजोर देखिएको छ। प्रचारका क्रममा विजय बरालको निर्माण टिमले ‘आलटाइम ब्लकबस्टर’ ‘पूर्णबहादुरको सारंगी’पछि आएको उनको मुख्य भूमिका भनेर बजार तताए पनि हलमा टिकट काट्ने मनसाय दर्शकमाझ देखिएको छैन। प्रश्न उठेको छ – के नेपाली दर्शकले हल्ला र भावनात्मक प्रचारलाई अब विश्वास गर्न छाडेका हुन् ? कि लगातारको ‘रुवाउने’ कथा र ओभर प्रमोशनले वाक्कदिक्क बनाएका हुन् ?

फिल्ममा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटी छन्। डीओपी नवीन गुरुङ र सिनेमेटोग्राफर कृष्ण परियार हुन्।

पेपरक्लिप ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल र मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत हुन्।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको यस फिल्मलाई अहिले नै ‘कमजोर बुकिङ’को धक्का लागेको छ। निर्माण टिम अझै प्रचारमा व्यस्त भए पनि हलमा दर्शक तान्न नसक्ने देखिएको छ । संगै आउन लागेको चलचित्र माग्ने राजाको पनि त्यस्तो सन्तोषजनक बुकिङ छैन ।