काठमाडौं – खिल बहादुर गुरुङको निर्देशनमा बनेको सिनेमा ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ। करिब साढे तीन मिनेट लामो ट्रेलरले गाउँले जीवनशैली, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ।
ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी प्रेम र परिवारबीचको संघर्षसँग लडिरहेका छन्। रिश्मा गुरुङसँगको उनको भावुक केमिस्ट्रीले ट्रेलरलाई थप असरदार बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथा रोचक मोड लिएको छ।
निर्देशक गुरुङले यस सिनेमामा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गर्ने संकेत ट्रेलरमार्फत दिएका छन्। संवाद, छायांकन र ब्याकग्राउण्ड संगीतले दर्शकलाई गाउँको वास्तविक परिवेशमा डुबाएको देखिन्छ। यसअघि सार्वजनिक पोस्टर र टिजरले चर्चा कमाइसकेको ‘रिमै’ ट्रेलरले पनि दर्शकमाझ उत्साह थपेको छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यस सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ तथा बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको पनि अभिनय छ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेको पटकथालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन्। कार्यकारी निर्माता वीरवल घले रहेका छन् भने निर्माता टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले हुन्। बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताका रूपमा रहेका छन्।
संगीतमा दीपक शर्मा र थानेश्वर गौतम, मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई, प्रोडक्सन म्यानेजर विष्णु मैनाली र सम्पादन मित्र डि गुरुङको रहेको छ।














प्रतिक्रिया