दसैँ २०८३ मा दीपक र समीर पुनः भिड्दै छन् ?


काठमाडौँ । दसैँ, तिहार र नयाँ वर्षजस्ता चाडपर्वका मितिहरू नेपाली फिल्म निर्माताहरूको प्रिय बन्दै गएका छन् । यी मितिमा फिल्म ठीकठाक भए पनि हलमा दर्शकको भिड हुने विश्वास निर्माताहरूमा छ। राम्रो फिल्मले त झन् उत्कृष्ट व्यापार गर्ने निश्चितप्रायः छ । त्यसैले पछिल्लो समय निर्माताहरू यी मितिलाई छाड्न तयार छैनन् ।

खासगरी दसैँ अहिले फिल्म रिलिजका लागि सबैभन्दा ठूलो र आकर्षक मिति बनेको छ । यसै क्रममा आगामी वर्ष २०८३ को दसैँमा पनि ठूलो भिडन्त हुने पक्कापक्की भएको छ। अभिनेता दीपकराज गिरीले दसैँमा आफ्नो फिल्म रिलिज गर्ने घोषणा गरेको केही दिनमै अभिनेता समीर भट्टले पनि सोही मितिमा आफ्नो फिल्म ल्याउने बताएका छन् ।

फिल्म प्रचारप्रसारका लागि दर्शकसँग भेटघाट गरिरहेका समीरले मिडियासँग कुरा गर्दै भने, ‘आगामी दसैँमा मेरो फिल्म रिलिज हुन्छ। अहिले नै कुन फिल्म भन्ने यकिन भएको छैन, तर फिल्म अवश्य आउनेछ।’ उनको यो भनाइले दसैँ २०८३ मा ‘छक्का पञ्जा’ सिरिजको नयाँ फिल्म र ‘१२ गाउँ’ को सिक्वेलबीच भिडन्त हुने सम्भावना देखिएको छ ।