विप्लवले पार्टीको नामसमेत ‘हाइज्याक’ गरेपछि माओवादीमा हलचल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अन्तिम समयमा आएर एकता प्रक्रियामा धोका दिएको माओवादीले निष्कर्ष निकालेको छ । माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादी र नेकपासँग एकता गरेर ठूलो कम्युनिस्ट पार्टी बनाउन चाहन्थे । त्यसका लागि समाजवादी मोर्चाको कार्ड प्रयोग गर्दै आएका थिए ।
एकताको विषयमा प्रचण्ड, माधवकुमार नेपाल, विप्लव, महीन्द्र राय यादवबीच पटक पटक छलफल भएको थियो । त्यसबेला पार्टी एकता भएपछि नयाँ पार्टीको नामका विषयमा समेत छलफल भएको थियो । मोर्चामै छलफलमा आएको नाम लिएर विप्लव निर्वाचन आयोगमा पुगेको तथ्य खुलेको छ । प्रचण्ड र माधवले कम्युनिस्ट पार्टी नेपाल नाम राख्ने तयारी गरेका थिए । त्यही नाम लिएर विप्लवले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएपछि माओवादी नेताहरु आक्रोशित भएका छन् । माओवादी नेता राजन दाहालले छलफलमा उठेको नाम लिएर किन निर्वाचन आयोग पुगेको भन्दै प्रश्न गरेका छन् ।

विप्लवले नयाँ पार्टीमा सहभागी नहुने निर्णय गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताको तयारी थालेका छन् । आफ्नो पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरेर चुनावी प्रक्रियामा सहभागी हुने तयारी भइरहेको उनले बताएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीले राजनीतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको बताए। उनले पुरानो स्कुलको विस्थापन गर्दै चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई परिवर्तन गरेको उल्लेख गरेका छन्।

विप्लवले पार्टीले एकीकृत जनक्रान्तिको स्कुलअनुसार समग्र संघर्षको मोर्चामा चुनावी प्रक्रियालाई आत्मसात् गरेर पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा लाग्ने उल्लेख गरेका छन्। नयाँ राजनीतिक स्कुलअनुसार अगाडि बढ्दै चन्दले राष्ट्रिय मुद्दाहरूमा लड्ने र सबै देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्ने उनको प्रस्ताव छ।