अमेरिकामा वृत्तचित्र ‘जिरो टू ८८४८’


एटलान्टा (अमेरिका) — नेपालको भूगोल, संस्कृति र साहसिक यात्रालाई विश्वसामु चिनाउने उद्देश्यले तयार गरिएको नेपाली डकुमेन्ट्री ‘जिरो टु ८८४८’ (Zero to 8848) को प्रिमियर अमेरिकाको एटलान्टास्थित AMC North DeKalb 16, Decatur मा शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली र अन्तर्राष्ट्रिय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपालका दक्षिणी भूभाग कचनकवल (समुद्री सतहबाट ५८ मिटर) बाट सुरु भएर विश्वकै अग्लो शिखर सगरमाथा (८८४८ मिटर) सम्मको अद्भुत यात्रा समेटिएको यो डकुमेन्ट्री विश्वकै सबैभन्दा छोटो उचाइ फरक भएको भौगोलिक मार्ग (Zero to 8848m) को खोज र प्रस्तुतिमा केन्द्रित छ।

डकुमेन्ट्रीको निर्देशन निरञ्जन पाण्डे ले गरेका हुन् भने सह–निर्देशक तथा सम्पादक बलराम बुढाथोकी हुन्। चलचित्रको अवधारणा वरिष्ठ पत्रकार प्रेम बानियाँ ले तयार गरेका हुन्। करिब चार वर्षको मेहनतपछि तयार भएको यस फिल्मले साहसिक यात्रा, संस्कृति, कला–वास्तुकला र जलवायु परिवर्तन सम्बन्धी चेतनालाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।

फिल्ममा प्रेम बानियाँसँगै टेण्डी शेर्पा (१८ पटक सगरमाथा आरोहण गरेका पर्वतारोही), पुष्कर शाह (साइकल यात्री, पर्वतारोही तथा लेखक), अन्तर्राष्ट्रिय पर्वतारोही कनराड एन्कर र आरोही क्ले वाडम्यान समेतको सहभागिता रहेको छ।

‘जिरो टु ८८४८ इन्टरटेनमेन्ट’ द्वारा निर्मित यस डकुमेन्ट्रीका सह–निर्मातामा कपिल शरण वाग्ले, राजेन्द्र पाण्डे, एलेक्स पराजुली, श्रीराम वाग्ले, जय नारायण साह र गोविन्द गुरुङ छन्। कार्यकारी निर्माता श्रीराम वाग्ले हुन्।

करीब १० लाख अमेरिकी डलर लागतमा बनेको र १ घण्टा ४६ मिनेट लामो यो डकुमेन्ट्रीको छायांकन बलराम बुढाथोकीले गरेका हुन्। उनलाई उमाङ साहि, सुरज गुरुङ, केशव निरौला, सुजन गुरुङ र दावा शेर्पा ले सहयोग गरेका छन्।

फिल्मले नेपालको भौगोलिक विविधता, संस्कृति, जनजीवन र जलवायु परिवर्तनको प्रभाव लाई गहिरो रूपमा चित्रण गरेको छ। तराईका हरिया मैदानदेखि हिमालका हिउँले ढाकिएका शिखरसम्मको यात्रा प्रस्तुत गर्दै, फिल्मले नेपालको पहिचान, सहनशीलता र आत्माको कथा सुनाएको छ।

प्रिमियरमा उपस्थित दर्शकहरूले फिल्मको उच्च प्रशंसा गर्दै, यसले सगरमाथा र नेपालको गौरवलाई विश्वमाझ अझ बलियो बनाएको प्रतिक्रिया दिएका थिए।