मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेशका विपक्षी दल आजै सर्वोच्च जाने


काठमाडौं – मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध विपक्षी दल सोमबार सर्वोच्च अदालत जाने भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, माओवादी, एकीकृत समाजावादीलगायत दलहरू मुख्यमन्त्री यादवको नियुक्ति रोक्न सर्वोच्च जाने भएका हुन् । संविधानको धारा १६८ को उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गर्नु गलत भएको विपक्षी दलहरूको भनाइ छ ।

एमाले संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्ति गर्दै होटलमा बोलाएर शपथ खुवाएकी थिइन् । उनी स्वास्थ्य उपचारका लागि भन्दै आइतबार राति नै प्रदेश बाहिर गएकी थिइन् ।

जसपा नेपालका नेता मनिष सुमनले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध सर्वोच्च जाने तयारी भएको जानकारी दिए । उपधारा (२) को विकल्पमा जान सकिने हुँदा नेपाली कांग्रेस पनि मुख्यमन्त्री नियुक्तिको विपक्षमा रहेको उनको भनाइ छ ।

मधेश प्रदेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड भएको छ । घटनामा नेपाली कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंहले नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका छन् भने अर्का सांसदले कुर्सी फालेका छन् ।
घटना पछि मुख्यमन्त्री कार्यालयमा सुरक्षा कडाइ गरिएको छ ।