काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) सोमबार उद्घाटन हुँदैछ । तर उदघाटन खेलको सबै टिकट बिक्री भएको छ । उदघाटन खेल साविक विजेता जनकपुर बोल्टस र काठमाडौं गोर्खाजबीच हुँदैछ ।
पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेकाले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट सङ्घ (क्यान)ले आग्रह गरेको छ ।
क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत् टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकलाई रंगशालामा आएर हुलहुज्जत नगर्न पनि आग्रह गरे ।। साथै, उनले टिकट नहुने दर्शकले घरमै बसेर खेल हेर्दै एनपीनएल क्रिकेटलाई समर्थन गर्ने आफूले अपेक्षा राखेको बताए ।
एनपीएल एउटा ब्राण्ड बनिसकेकाले विश्वको ध्यान नेपाली क्रिकेटमा पर्ने हुँदा दर्शक तथा समर्थकलाई अनुशासित भएर खेल हर्न क्यानले अनुरोध गरेको छ । साथै, आउँदा दिनमा विश्वस्तरका धेरै खेलाडीलाई बोलाएर नेपालमा खेल्ने वातावरण बनाउने सन्देश दिनुपर्नेमा क्यानका सचिव खड्काको जोड छ ।
अहिले सिट सङ्ख्या निश्चित भएकाले क्यानले पहिलो खेलका लागि झन्डै आठ हजार टिकट बेच्न दिएको छ भने झन्डै दुई हजार टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याइएको छ । थप तीन हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि छुट्याएको छ। शनिबार पत्रकार सम्मेलनमा पनि सचिव खड्काले एनपीएलका खेलहरु भइरहेको समयमा कुनै पनि समूहलाई काठमाण्डौ केन्द्रीत आन्दोलन नगर्न आग्रह गरेका थिए ।














प्रतिक्रिया