काठमाडौं। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
महाधिवेशन तयारीबारे छलफलका लागि बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा उनले अध्यक्षको उम्मेदवार बन्ने नेताहरूलाई औपचारिक जानकारी गराएका हुन् ।
दुई कार्यकाल महासचिव, एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल ०३२ मा स्थापित कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य हुँँदै करिब ५० वर्षदेखि लगातार केन्द्रीय कमिटीमा छन् । बैठकमा उनले अध्यक्ष ओलीले तेस्रो कार्यकाल पनि नेतृत्व लिँदा पार्टी कमजोर बन्ने जिकिर गर्दै औपचारिक रूपमा बिदा लिएर सर्वसम्मत अध्यक्ष बनाउने काममा सहयोग गर्न ध्यानाकर्षणसहित आग्रह गरे ।
‘तपाईंको कार्यशैली, अभिव्यक्ति र व्यवहारले पार्टीलाई घाटा भइरहेको छ, अब बिदा लिनु नै राम्रो हुन्छ । अब म पार्टी चलाउँछु, तपाईं सहयोग गर्नुस् । तैपनि बिदा हुनुभएन भने एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्छु,’ पोखरेलले भने । उनले एमालेको अध्यक्ष लिने योजनाबारे लामै पृष्ठभूमिसहित ओलीको असफलतामाथि प्रहारसमेत गरेका थिए ।
जवाफमा ओलीले भने अहिले राष्ट्र र पार्टीको आवश्यकताले गर्दा फेरि पनि अध्यक्ष बन्नुपर्ने अवस्था रहेको भन्दै सर्वसम्मतिको अवस्था नबने स्वस्थ प्रतिस्पर्धालाई भने आफूले अन्यथा ढंगले नलिने बताएका थिए ।
यद्यपि, उनले पार्टीभित्र अध्यक्षमा प्रतिस्पर्धा हुँदा पराजित भएर पनि पार्टी बचाउन एकताबद्ध बनाएर अघि बढाउन आफूले मात्र योगदान गरेको दृष्टान्त प्रस्तुत गर्दै केही गरी नेतृत्वमा पराजित भएको अवस्थामा माधव नेपाल र भीम रावलले जस्तो पार्टीमै नरहने अवस्था नआओस् भन्दै सचेततापूर्वक स्वस्थ प्रतिस्पर्धामा भाग लिन ध्यानाकर्षण गराएका थिए ।
पोखरेलले पहिलोपटक मसिनो स्वरमा ओलीलाई चुनौती दिएका हुन् । दसौं महाधिवेशनमा उनी ओलीकै प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विजयी भएका थिए । अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएर ओलीविरुद्ध चुनौती दिएका पोखरेलको हविगत माधव र भीमकै जस्तो हुने हो कि भन्ने आशंका उब्जिएको छ ।














प्रतिक्रिया